९ जेष्ठ २०८२ , शुक्रबार

आज देशभर वर्षाको सम्भावना, सतर्क रहन आग्रह

News
६ बैशाख, काठमाण्डौँ ।

हाल देशमा स्थानीय र पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले मेघगर्जन, चट्याङ, वर्षा र हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।