२२ बैशाख २०८२ , सोमबार

'ओलीलाई गाली गर्नेहरूले आफ्नै भविष्य बिगार्दैछन्', राधिका शाक्यको आक्रोश

News
२१ बैशाख, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले सामाजिक सञ्जालमा श्रीमान विरुद्ध भइरहेको गालीगलौजप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्। उनले ओलीलाई ‘८ कक्षा फेल’ भनी गिज्याउनेहरूलाई जवाफ दिँदै ओली अथाह ज्ञानका खानी भएको बताइन्।

शनिबार धुलिखेलमा आयोजित आफ्नो आत्मकथा ‘करुणा’ माथिको विमर्श कार्यक्रममा बोल्दै शाक्यले सामाजिक सञ्जालले नकारात्मकतातिर डोर्‍याइरहेको भन्दै चिन्ता व्यक्त गरिन्। आफूले डबल डिग्री हासिल गरे पनि ओलीको ज्ञानको तुलनामा त्यो केही नभएको उनले बताइन्।

उनले भनिन्, “मैले दुई विषयमा मास्टर्स गरेको छु, तर शिक्षक आन्दोलनमा ‘८ कक्षा फेल भएको मान्छेले देश चलाउने, हामी यत्रो पढेका शिक्षक सहरमा आन्दोलन गर्नुपर्ने?’ भन्ने कुरा सुनेँ। म सबैलाई विनम्र अनुरोध गर्न चाहन्छु, मसँग दुई विषयमा मास्टर्स गरेको प्रमाणपत्र छ, तर मेरो श्रीमान् केपी ओलीमा रहेको विविध विषयको ज्ञानको अगाडि म केही पनि होइन।”

जेल जीवनका दौरान ओलीले प्रमाणपत्रमा ध्यान नदिएको तर त्यहाँ प्रमाणपत्र लिनेहरूको गुरु ओली नै भएको उनले बताइन्। ओलीले सबैलाई पढ्न प्रेरणा दिने तर आफूले प्रमाणपत्र नलिएको कारण खुलाउँदै शाक्यले भनिन्, "उहाँको सर्टिफिकेट किन भएन तपाईंहरू सबैलाई थाहा छ। जेलमा भएका थुप्रैले प्रमाणपत्र लिनुभएको छ। तर, प्रमाणपत्र लिने साथीहरूको गुरु पनि जेलमा केपी ओली नै हो। उहाँले हरेक विषयमा जेलमा बसेका साथीभाइहरूलाई जानेको कुरा सिकाइदिनुहुन्थ्यो।"

उनले सामाजिक सञ्जालमा ओलीलाई गाली गरेर कसैको भविष्य नबन्ने बताउँदै गिज्याउनेहरूले आफ्नै खुट्टामा बन्चरो हानेको उनको धारणा रहेको बताइन्।

"उहाँहरूलाई लाग्ला हामीले यस्तो भने पनि यिनीहरूलाई टेन्सन हुन्छ होला, के के हुन्छ होला भन्ने लाग्छ होला। तर हामीलाई टेन्सन पनि हुन्न। किन भने हामीले कुनै काम बिराएको छैनौँ, कुनै नराम्रो काम गरेका छैनौँ। देशविरुद्धको कुनै काम गरेको छैन भने किन टेन्सन लिने?," उनले भनिन्।

यस किसिमको नकारात्मकताको असर अहिलेका युवा पुस्तालाई नै पर्ने उनको भनाइ थियो।