६ जेष्ठ २०८२ , मंगलवार

राजनीति बुझेकी छु तर आउँदिनँ: राधिका शाक्य

News
६ जेष्ठ, काठमाण्डौँ ।

प्रथम महिला राधिका शाक्यले आफूले राजनीति बुझेको तर राजनीतिमा नआउने स्पष्ट पारेकी छिन्।

प्रेस चौतारी नेपालद्वारा आयोजित ‘करुणा’ पुस्तक ‘लेखिका राधिका शाक्यको सम्पादकसँगको संवाद’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी शाक्यले विद्यार्थीकालदेखि नै राजनीतिमा केही हदसम्म आबद्ध भएको र राजनीतिक व्यक्तित्वसँगको विवाह भएपछि मुलुकको राजनीतिक घटनाक्रमबारे राम्रोसँग बुझ्ने अवसर पाए पनि राजनीति गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारिन्। नेपालमा पछिल्ला दिनमा सकारात्मक सोचका साथ काम गर्नेभन्दा नकारात्मक धारणा बनाइ अनावश्यक कुरा काट्ने पक्ष हावी भएको उल्लेख गर्दै उनले देशलाई माया गर्ने एक सामान्य नेपाली नागरिक भएर बस्न चाहेको बताइन्।

प्रथम महिला शाक्यले राजनीतिक अस्थिरताको अफवाह फैलाइ सरकारलाई निर्वाध रूपमा काम गर्न नदिनेहरू हावी हुनु मुलुकको ठूलो समस्या भएको जिकिर गरिन्। उनले दिनरात नभनि देश र जनताका पक्षमा काम गर्नेहरूलाई धन्यवादसहित प्रशंसा गर्नुको सट्टा गालिगलौज गरी त्यसैमा रमाउने प्रवृत्ति हावी भइरहे देश कहाँ पुग्ला भनी चिन्ता व्यक्त गरिन्। आफ्नो प्रेरणाको स्रोत श्रीमान् ओली रहेको र उहाँकै कारण आफूले दुई विषयमा स्नातकोत्तर तहको उपाधि हासिल गर्न सफल भएको उल्लेख गर्दै प्रथम महिला शाक्यले फुर्सद हुनासाथ लेख्न–पढ्न रमाउने र सानैदेखि आफूमा कारुणिक स्वभाव रहेको धारणा राखिन्।

त्यस अवसरमा डा देवी नेपाल र वरिष्ठ पत्रकार बबिता बस्नेतले भर्खरै सार्वजनिक कृति ‘करुणा’ माथि समीक्षा गर्दै करुणाकी खानी शाक्य र नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई बुझ्न खोज्ने जोकोहीका लागि पुस्तक उपयोगी हुने धारणा राखेका थिए। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले सङ्घर्ष, त्याग, समर्पण, सालिनता, सहनशीलता, व्यक्तित्वका हिसाबले ‘प्रथम महिला शाक्य’ उदाहरणीय बन्न सफल हुनुभएको उल्लेख गर्दै नेपाली समाजले उहाँबाट धेरै कुरा सिक्न सक्नुपर्ने धारणा व्यक्त गरेका थिए।