नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रबारे जनतालाई राम्ररी बुझाउन नसकिएको बताएका छन्।
आज राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले लोकतन्त्रले नेपाली समाजलाई परिवर्तन गर्न सहयोग गरेको कुरा जनतालाई बुझाउन नसकिएको बताए। "लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि धेरै सहयोग गरेको छ, तर त्यो कुरा हामीले जनतालाई राम्ररी बुझाउन सकेनौँ," उनले भने।
महासचिव पोखरेलले अहिले लोकतन्त्र र गणतन्त्रमाथि नै मानिसहरूले विश्वास गर्न छाडेको बताउँदै लोकतन्त्रले केही दिएन, बरु राजतन्त्र नै ठीक थियो भन्ने कुरा पनि गर्न थालिएको बताए। उनले मिलेर सरकार चलाउनुपर्दा सबै कुरा गर्न नसकिने बताउँदै अहिले दुई दल मिलेर सरकार चलाउँदा सजिलो नभएको बताए।
अहिले दुई ठूला दलको सरकार बनेपछि देशको आर्थिक अवस्थामा सुधार भएको महासचिव पोखरेलले बताए। थोरै जनशक्ति र स्रोतसाधनका बीचमा पनि नेपालको स्वास्थ्य क्षेत्रले समाजको विकासमा ठूलो योगदान गरेको उनले बताए। केही शक्तिहरूले नेपाली समाजलाई पछाडि फर्काउन खोजिरहेका छन्, उनले भने। नेपालको आर्थिक, सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा एमालेले धेरै सुधार गरेको महासचिव पोखरेलले बताए।
राज्य कमजोर भएमा देश र नागरिक बलिया हुन नसक्ने बताउँदै उनले बलियो राज्यले मात्र देश र जनताको सुरक्षा गर्न सक्ने बताए। महासचिव पोखरेलले पार्टीभित्र पनि समस्याहरू बढ्दै गएको बताए। आजसम्म चल्ने कार्यक्रमले नयाँ नेतृत्व छान्ने महासङ्घका अध्यक्ष डा झलक शर्मा गौतमले जानकारी दिए।