सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइ आयोजना गर्यो, जहाँ ज्येष्ठ नागरिकलाई सम्मान पनि गरियो । पालिकाले पालिकास्तरीय सार्वजनिक सुनुवाइ गर्नुका साथै ज्येष्ठ नागरिक, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो ।
१० वटा वडा रहेको गाउँपालिकामा ८० वर्ष पुगेका ४८० जना ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट, इलेक्ट्रिक जग र थर्मस दिएर सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए ।
त्यस्तै, जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगदसहित कदरपत्रले सम्मान गरियो । स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः नगद रु दुई हजार, एक हजार पाँच सय र एक हजार दिइयो । पालिकाबाट प्रतियोगितामा भाग लिएर ३१ जनाले स्वर्ण, १२ जनाले रजत र तीन जनाले कास्य पदक जितेका थिए ।
दुई आर्थिक वर्षको एसइई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने छात्रछात्रालाई नगदसहित कदरपत्रले सम्मान गरियो । आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट जिपिए ल्याउने पाँच जना छात्रछात्रालाई नगद रु पाँच हजारसहित कदरपत्र दिइयो ।
एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालयलाई पनि सम्मान गरियो । तीन वटा विद्यालयले आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका थिए । सुनकोशी माध्यमिक विद्यालय बलखु गौडा, आरुभञ्ज्याङ माध्यमिक विद्यालय बलखु र पञ्चकन्या माध्यमिक विद्यालय सिस्नेरी शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका थिए । ती विद्यालयलाई नगद रु २० हजारसहित कदरपत्र दिइयो, शिक्षा शाखा प्रमुख विवेक तामाङले जानकारी दिए ।
शिक्षामा उच्च शैक्षिक गुणस्तर बढाउन, विद्यालय र विद्यार्थीहरुको मनोबल उच्च पार्दै हौसला दिन सम्मान गरिएको पालिका अध्यक्ष कमल तामाङले बताए ।