१७ कार्तिक २०८२ , सोमबार

म्याग्दीको राम्चेमा शतप्रतिशत योजनाको काम समयअगावै सम्पन्न

News
१४ असार, काठमाण्डौँ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चेमा शतप्रतिशत योजनाको काम निर्धारित समय अगाबै सकिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिका र वडा कार्यालयमार्फत सञ्चालन भएका पूर्वाधार निर्माण योजना गत जेठ अगावै सम्पन्न भएका हुन्। यस वर्ष वडाभित्र करिब रु एक करोड बढी बजेटबाट सडक, पदमार्ग, भवनलगायतका पूर्वाधार निर्माण गरिएको वडा अध्यक्ष खमबहादुर गर्बुजाले जानकारी दिए।

“वडाबाट छनौट भएका र पालिकाबाट थप भएर आएका योजना सतप्रतिशत कार्यान्वयन भएका छन्, हामीले जेठमै सबै योजनाको काम सकेका थियौँ, पालिकाबाट जनप्रतिनिधि र प्राविधिकले अन्तिम अनुगमन गरेपछि अहिले भुक्तानीको काम भइरहेको छ,” उनले भने। उपभोक्ता समिति, समुदाय र जनप्रतिनिधिको सक्रियताले वडामा भित्रिएको बजेट फिर्ता हुने र निर्माणकार्यमा ढिलासुस्तीको समस्या हटेको वडा अध्यक्ष गर्बुजाले जानकारी दिए।

यस वडामा चालु आर्थिक वर्षमा दुई ठूला गौरवका योजना सञ्चालन भएका थिए। पर्यटकीय बस्तीको रूपमा परिचित नाङ्गीगाउँमा रु २० लाख बजेटबाट खेलमैदान निर्माण गरिएको छ। हिमाञ्चल माध्यमिक विद्यालय परिसरमा विद्यार्थी र स्थानीय युवालाई लक्षित गरी फुटबल खेल सञ्चालन गर्न सकिने क्षमताको खेलमैदानको आधार भूत पूर्वाधार निर्माण भएको छ।

त्यसैगरी राम्चे गाउँमा वडा कार्यालय भवनमा तला थपको लागि वडा र पालिकामार्फत विनियोजन भएको रु २५ लाख र जिल्ला समन्वय समिति तथा पालिकाको लागत साझेदारीमा रु ८ लाख बराबरको भौतिक संरचना निर्माणका कामसमेत सम्पन्न भएको वडा अध्यक्ष गर्बुजाले जानकारी दिए।

नाङ्गीदेखि राम्चे आउने थावनमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पदमार्ग निर्माण र परम्परागत ढुङ्गे साँघु मर्मत गरिएको छ। थावन स्थित दोबिल्नाखोलामा रहेको जिर्ण ढुङ्गे साँघु मर्मत र पदमार्ग निर्माणले सर्वसाधारणलाई सहज भएको स्थानीयवासी रबि गर्बुजा पुनले बताए। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थावन र महभिरदेखि धार्मिक पर्यटकीयस्थल करबाकेलीथान जोड्ने बाटोमा ढुङ्गाको सिढी चिनेर करिब २५६ मिटर पदमार्ग निर्माण भएको छ।

ढुङ्गा चिनेर स्थानीय स्रोत, साधन र जनशक्तिको प्रयोग गरी पदमार्ग निर्माण भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका प्राविधिक सहायक निश्चलराज चोखालले जानकारी दिए। यसै वर्ष वडा नं ८ को काफलडाँडामा घाट जाने बाटोमा रु आठ लाख बजेटबाट करिब ४०० मिटर पदमार्ग निर्माण गरिएको छ। चालु आर्थिक वर्षमा यस वडाको नाङ्गीमा युवा क्लबको भवन मर्मत, काफलडाँडामा देउराली युवा क्लबको भवन निर्माण भएको छ।

वडाभित्र सञ्चालित सडक निर्माण योजनामार्फत आलडाँडादेखि नाका जोड्ने सडकमा ७०० मिटर र बासुर क्षेत्रमा एक हजार २०० मिटर नयाँ सडकको ट्याक निर्माण भएको निर्माण भएको वडाका प्राविधिक शम्भुकुमार यादवले जानकारी दिए। उनका अनुसार यस वर्ष थपना देउराली बालविकास भवनको घेरावार, काफलडाँडा आधारभूत विद्यालयमा सिलिङ निर्माण, महभिर सिँचाइ पोखरी मर्मतलगायतका भौतिक पूर्वाधार निर्माण गरिएको छ।