राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम वाचन गरेका थिए। राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए।
यसअघि राष्ट्रपतिलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले स्वागत गरेका थिए। राष्ट्रपति पौडेललाई संसद् भवन गेटदेखि नेपाली सेनाको ‘रिसल्ला’ सहितको राजकीय सम्मान प्रदान गरिएको थियो। नेपाली सेनाका परामाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलको सम्मानमा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
बैठकमा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, पूर्वसभामुखहरु, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता थियो। संयुक्त बैठकको नेपाल टेलिभिजन, रेडियो नेपाललगायत विभिन्न सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए। संसद् भवन परिसर राष्ट्रिय झण्डासहतिका ध्वजापताकाले सिङ्गारिएको छ। भवन परिसरमा रहेको ‘वाटर फाउन्टेन’बाट आमन्त्रित पाहुनाको स्वागत गरिएको थियो। सचिवालयले विशेष प्रवेश पाससहित ४०० भन्दा बढी अतिथिलाई नीति तथा कार्यक्रम प्रस्तुत समारोहमा निमन्त्रणा गरेको थियो।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ। सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ। यही वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ। नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ।