२२ बैशाख २०८२ , सोमबार

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे उद्यान उद्घाटन तथा शालिक अनावरण

News
२१ बैशाख, काठमाण्डौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रकवि माधव घिमिरे उद्यान’ उद्घाटन तथा उहाँको शालिक अनावरण गरेका छन्।

राष्ट्रपति पौडेलले राष्ट्रकवि घिमिरेको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुङ बाहुनडाँडामा निर्मित उद्यान र शालिक अनावरण गरेका हुन्। साथै उनले स्थानीयसँग भेटघाट गरेका छन्।

राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठान तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट रु २० लाख, गण्डकी प्रदेशकै सामाजिक विकास मन्त्रालयबाट रु चार लाख र मस्र्याङ्दी गाउँपालिकाबाट रु तीन लाखको सहयोगमा पार्कको संरचना तथा शालिक निर्माण गरिएको हो।

राष्ट्रकवि माधव घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङ जिल्लाको मस्र्याङ्दी–६, बाहुनडाँडा पुस्तुनमा भएको थियो। उनको २०७७ साल भदौ २ गते १०१ वर्षको उमेरमा काठमाडौँमा निधन भएको हो।