३ जेष्ठ २०८२ , शनिबार

सरकारको नीति तथा कार्यक्रममा सत्तापक्षको समर्थन, प्रतिपक्षद्वारा कार्यान्वयनमा चुनौती औंल्याइयो

News
२३ बैशाख, काठमाण्डौँ ।

सरकारको नीति तथा कार्यक्रम व्यवहारिक, जनमुखी र प्रगतिशील रहेको भन्दै सत्ता पक्षका सांसदहरूले समर्थन जनाएका छन् भने प्रतिपक्षका सांसदहरूले कार्यान्वयनमा चुनौती देखाउँदै विपक्षमा आफ्ना धारणा राखेका छन्।

आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि साेमबार प्रतिनिधिसभामा छलफलका क्रममा सत्तापक्ष र विपक्षका सांसदहरूले आ-आफ्नो विचार प्रस्तुत गरेका हुन् ।

बैठकको अन्तिमतिर छलफलमा भाग लिनुभएका नेपाली कांग्रेसका सांसद राजु थापाले नीति तथा कार्यक्रमलाई समर्थन जनाए। उनले पर्याप्त स्रोतसाधन र राजनीतिक अस्थिरताका कारण कार्यान्वयन चुनौती देखिँदै आएकाले यसमा सचेत रहनुपर्नेमा जोड दिए। थापाले नीति तथा कार्यक्रम कार्यान्वयनमा देखिने सबै प्रकारका चुनौतीको सामना गर्न राजनीतिक दलहरू एकठाउँमा उभिन आह्वान गरे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमृतलाल राजवंशीले नीति तथा कार्यक्रम व्यवहारिक र जनमुखी रहेको भन्दै समर्थन जनाए। उनले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रूपमा रूपान्तरण गर्नु सुखद् भएको बताए।

यस्तै, नेकपा (एमाले)की सांसद अमृतादेवी अग्रहरीले देशको आवश्यकता समेटेर नीति तथा कार्यक्रम आएको भन्दै प्रशंसा गरिन् । एमाले सांसद वासुदेव घिमिरेले उचित समयमै नीति तथा कार्यक्रम र बजेटबीचको तालमेल सुनिश्चित गर्न पूर्वयोजना र अनुगमन प्रणालीलाई बलियो बनाउनपर्ने सुझाव दिए।

नेकपा सांसद अम्बरबहादुर रायमाझीले मुलुकको अर्थतन्त्रमा रहेको शिथिलता अन्त्य गर्दै विश्वासिलो, भरपर्दो र व्यावसायिक वातावरण तयार पारी वर्तमान आर्थिक गतिविधिलाई चलायमान बनाउने नीति तथा कार्यक्रमको उद्देश्य रहेको बताउनुए।

एमाले सांसद किरणकुमार साहले देशभरमा अलपत्र र रुग्ण अवस्थामा रहेका पुलको निर्माण सम्पन्न गराउन ध्यानाकर्षण गराए । उनले नीति तथा कार्यक्रम समावेशी र दूरदर्शी रहेको भन्दै समर्थन जनाए।

प्रमुख प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले नीति तथा कार्यक्रमले नयाँ मार्गदर्शन दिन नसकेको बताए। नीति तथा कार्यक्रम आर्कषक सुनिए पनि कार्यान्वयन पक्ष कमजोर र अपारदर्शी रहँदै आएको उहाँको भनाइ थियो।

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बिहान ११ बस्नेछ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सदस्यहरूले बोल्ने क्रम आगामी बैठकमा समेत जारी रहनेछ।