नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनीका दुई अनाथ तथा सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।
भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा प्रचण्डले अल्पसंख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका हुन्। प्रचण्डले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले वहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अध्यक्ष दाहालले अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न पार्टी सधैं प्रतिबद्ध रहेको र सामाजिक न्याय र समानताका लागि माओवादीले उठाएका सवाल अझै सान्दर्भिक रहेको बताए।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो।