१५ असार २०८२ , आईतवार

प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाँदै, संसद्लाई गराए जानकारी

News
१४ असार, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्पेन प्रस्थान गर्दै छन् । प्रस्थान गर्नुअघि उनले सङ्घीय संसद्लाई आफ्नो भ्रमणबारे जानकारी गराएका छन् । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन आफू नेतृत्वको प्रतिनिधिमण्डल स्पेन जान लागेको बताए ।

आज असार १४ गते साँझ ६ बजे दोहा हुँदै स्पेनको यात्रा तय भएको र स्पेनको राजधानी म्याड्रिडमा भोलि असार १५ गते बिहान पुग्ने तालिका रहेको उनले जानकारी दिए । भ्रमण दलमा २१ सदस्य सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले संसद्मा बोल्दै भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिइने बताए ।

स्पेनको सेभिया सहरमा आयोजना हुने यो अन्तरराष्ट्रिय सम्मेलन एक दशकमा एकपटक आयोजना गरिन्छ । यस सम्मेलनमा संयुक्त राष्ट्रसङ्घको महासभामा जस्तै सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सहभागिता रहनेछ ।

प्रधानमन्त्री ओलीले भ्रमणको दोस्रो दिन असार १५ गते स्पेनको सेभियामा नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापनसत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी गराए । सोही दिन साँझ ५ बजे प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पोद्रो साञ्चेजबीच भेटवार्ता हुनेछ । असार १५ गते नै प्रधानमन्त्री ओली स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्रिभोजमा सहभागी हुनेछन् ।

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री ओली सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुनेछन् । त्यसैगरी सोही दिन गेट्स फाउण्डेशनले आयोजना गर्ने विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रमलाई पनि उनले सम्बोधन गर्नेछन् । सोही दिन दिउँसो मित्रराष्ट्र इस्टोनियाका राष्ट्रपति अलार कारिस र प्रधानमन्त्री ओलीबीच द्विपक्षीय बैठक हुनेछ भने प्रधानमन्त्री ओलीले अल्पविकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका छ ।

सोही दिन इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली, पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक हुनेछ भने संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटरेससँग पनि भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्रिभोजमा पनि सहभागी हुनेछन् ।

भ्रमणको चौथो दिन असार १७ गते प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकमा अध्यक्षता गर्दै मन्तव्य दिनेछन् । स्पेन सरकारका अध्यक्ष महामहिम पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यबद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा पनि उनले सम्बोधन गर्ने कार्यक्रम छ।

नेपाल सरकार, बङ्गलादेश, लाओ र संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक (युएनआरसी) को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिका लागि सशक्त सहनशीलता तथा जलवायु वित्तीय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

त्यसैगरी नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाह शीर्षकको कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । साथै सोही दिन अन्तरराष्ट्रिय विकास सहयोगको पुनर्जीवन कार्यक्रममा पनि उनले सम्बोधन गर्नेछन् भने राति ८ बजे स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्ने रात्रिभोजमा पनि प्रधानमन्त्री ओली सहभागी हुने तालिका छ ।

असार १८ गते, भ्रमणको पाँचौं दिन प्रधानमन्त्री सेभियाबाट म्याड्रिडमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् र नेपाल–स्पेन विजनेश तथा लगानी प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

भ्रमणको छैटौँ दिन अर्थात् असार १९ गते स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीले रियल म्याड्रिड फुटबल क्लबका अधिकारीहरूसँग भेटघाट गर्नेछन् र साण्टियागो वर्नावाउ रङ्गशालाको अवलोकन गर्ने कार्यक्रम छ । त्यसैगरी स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट गरी सोही दिन दोहा हुँदै प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम छ ।