प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ ।
दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रम र आगामी संसद् सत्रको तयारीबारे छलफल भएको स्रोतले जनाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको यो भेटलाई पछिल्लो समय राजनीतिक समीकरणमा देखिएको तरल अवस्थासँग पनि जोडेर हेरिएको छ।
स्रोतका अनुसार दुई नेताबीच हालको सरकारको स्थायित्व र दलहरूको भूमिकाबारे आपसी बुझाइ आदान–प्रदान भएको छ।
छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि बोलाइएको थियो तर उनी भने उपस्थित भएनन्। प्रचण्ड सचिवालयका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट औपचारिक निम्तो आए पनि अध्यक्ष दाहाल छलफलमा सहभागी नभएका हुन्।
ओली–देउवाको छलफलमा संसद् सत्र सुरु हुनुअघि सरकारको नीति तथा कार्यक्रम कसरी अघि बढाउने भन्नेबारे पनि विचार–विमर्श भएको बताइएको छ।