२२ बैशाख २०८२ , सोमबार

मुलुकको समृद्धिको यात्रामा सहभागी हुन प्रधानमन्त्री ओलीको आह्वान

News
१८ बैशाख, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।

१३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा उनले सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउने भएकाले सबैको सहयोग र समन्वय गर्नुपर्ने बताएका हुन्।

सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउन रणनैतिक कार्ययोजना निर्माण गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबै निकाय, वर्ग, समुदाय, क्षेत्रलगायतलाई आह्वान गरेका छन्। अन्तरराष्ट्रिय श्रम दिवसको अवसरमा श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न र समाजवाद उन्मुख समृद्ध नेपालको संकल्पमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै उनले मुलुको समृद्धिको यात्रामा सबै सहभागी हुनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले भने, “सरकारले श्रम बजार सूचना प्रणाली निर्माण गर्ने काम अघि बढाएको छ, अब सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्नेगरी काम अघि बढिसकेको छ। सूचना प्रविधिको विकासका लागि केही चुनौतीहरू हाम्रा सामु देखा परेका छन्।”

उनले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण श्रमजीवी नेपालीमा शुभकामना व्यक्त गर्दै विश्व श्रमिक सङ्गठन (आइएलओ)ले सन् २०२५ ले तय गरेको ‘सेफ्टि एण्ड हेल्थ अफ वर्कर, डिजिटलाइजेसन एण्ड द फ्युचर अफ वर्क’ नारा नेपालका लागि पनि सान्दर्भिक रहेको बताएका छन्। उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नयाँ प्रविधिको प्रयोग गरी श्रमिकको स्वास्थ्य र सुरक्षामा गर्न सकिने विषय पनि अघि सारेको बताए। अहिले इन्टरनेट र फोरजी सेवा व्यापक भएकाले उत्पादकत्व अभिवृद्धि गर्न सूचना प्रविधिको प्रयोगलाई व्यापकता दिइँदै आएको उनले जानकारी दिए।

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएको बताउँदै उनले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य प्राप्त गर्न, सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहने बताए।

श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली भएको बताउँदै उनले यसबाट श्रम तथा रोजगारका सम्बद्ध विषयको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाको नियमन, रोजगार सेवाको समतामूलक र पहुँचयोग्यता विस्तारमार्फत सङ्घीयताको लाभ जनस्तरसम्म पु¥याउन सहयोगी हुने उल्लेख गरे।

प्रधानमन्त्री ओलीले रोजगारदाता, श्रमिक र तालिम प्रदायकबीच समन्वयकारी भूमिका निर्वाह गर्न सहयोग गर्ने र राष्ट्रिय मानव संशाधन प्रणालीको अनुगमन, मूल्याङ्कन तथा विश्लेषणको आधार निर्माण गर्ने बताए। उनले नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास हुने र रोजगारदातालाई योग्य जनशक्तिको उपलब्धता सुनिश्चित हुने र यसले राष्ट्र निर्माणमा सहयोगी भूमिका निर्वाह गर्ने बताए। श्रम, रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्ने र वैदेशिक रोजगारमा देखापरेका चुनौती नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए। उनले श्रम बजारको विकास गर्न तालिम, उद्यमशीलताको विकास गर्न सहुलियतपूर्ण कर्जा सरकारले उपलब्ध गराउने बताउँदै सबै श्रम तथा रोजगार सेवालाई जनताको घरदैलोमा पु¥याउन श्रम मन्त्रालयले सुरुआत गरेको ‘श्रम संसार’ पोर्टल उल्लेख्य कार्य भएको धारणा राखे। यसलाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न निर्देशन गर्ने उनले प्रतिवद्धता व्यक्त गरे। सीपमूलक जनशक्ति रोजगारीमा जोडिए समृद्ध नेपाल बन्ने र श्रमिकको कल्याण, महिलाको आत्मनिर्भरता र त्यसले निरन्तरता प्राप्त गरे सुखी नेपाली सम्भव हुने प्रधानमन्त्री ओलीले बताए।