६ असार २०८२ , शुक्रबार

फोटो पत्रकार रावललाई नेपालगञ्ज तस्बिर महोत्सवको पिपुल्स च्वाइस अवार्ड

News
६ असार, काठमाण्डौँ ।

नेपालगञ्जका फोटोपत्रकार अमित रावलले चौथो नेपालगञ्ज तस्बिर महोत्सवको पिपुल्स च्वाइस अवार्ड जितेका छन्।

अन्तरालले आयोजना गरेको तस्बिर महोत्सवमा राष्ट्रिय फोटो प्रतिस्पर्धाबाट उत्कृष्ट ३१ मा पर्न सफल तस्बिरमध्ये रावलले बर्दियाको बढैयातालमा खिचेको रेडसांक प्रजातिको चराहरुको तस्बिरले इ–सेवा भोटिङमा सर्वाधिक ६ हजार ७७७ मत प्राप्त गर्दै पिपुल्स च्वाइस अवार्ड जित्न सफल भएको हो।

लुम्बिनी प्रदेशसभा सदस्य माया पुनद्वारा रावललाई रु ५० हजार १११ राशिको पुरस्कारसहित अवार्ड प्रदान गरिएको थियो। अवार्ड प्राप्त गरेपछि रावलले पुरस्कारले तस्बिर खिच्न र संरक्षणको काममा आफूलाई अझै प्रोत्साहित गरेको बताए। उनले भने, “कोहलपुरका मिर्गौलापीडित फिरोज बक्सलाई यस पुरस्कारबाट रु १० हजार उपलब्ध गराउँछु”, उनले भने।

महोत्सवमा नेपालगञ्जका तिलक गाहा मगरले खिचेको तस्बिरले खेलकुद विधातर्फ, कृषि विधातर्फ बबी साई, संस्कृति विधातर्फ सञ्जय महर्जन, दैनिक जीवन विधातर्फ विजय थापा, प्रकृति र संरक्षण विधातर्फ रोमिन थारु, नेपाल स्माईल विधातर्फ जीवन लामा, वाईल्ड लाइफ विधातर्फ विनय रावल, टुरिजम विधातर्फ मनोज पौडेल र समाचार विधातर्फ बरम बुढाको तस्बिर उत्कृष्ट घोषित भएका छन्।

विधागत उत्कृष्ट तस्बिर विजेतालाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितामा आर्यन धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अघि रुँदै गरेकी महिलाको तस्बिर ‘फोटो अफ द इयर’ घोषित भएको छ। उक्त तस्बिरले रु ५१ हजार १११ पुरस्कार प्राप्त गरेको छ।

यसैगरी अन्तरालको आयोजनामा सञ्चालन भएको दुई दिने फोटोग्राफी तालिम सम्पन्न भएको छ। तालिममा सहभागी ३९ जनालाई समापन कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो। प्रतिस्पर्धामा देशभरबाट छानिएका १११ तस्बिर खिच्नेलाई प्रमाणपत्र प्रदान गरिनुका साथै ती तस्बिर नेपालगञ्ज, सङ्घीय राजधानी काठमाडौँ र सातै प्रदेशमा हुने तस्बिर प्रदर्शनीमा समावेश गरिने आयोजकले जनाएको छ।