७ कार्तिक २०८२ , शुक्रबार

आज भाइटीका धुमधामसहित मनाइँदै, टीकाको उत्तम साइत बिहान ११:३९ बजे

News
६ कार्तिक, काठमाण्डौँ ।

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका आज देश तथा विदेशमा रहेका नेपालीहरुले उल्लासपूर्वक मनाइरहेका छन।

आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र ममताका साथ पञ्चरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गरिरहेका छन्। त्यसैगरी, दाजुभाइहरूले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा र उपहार प्रदान गर्दै स्नेह र सम्मान प्रकट गर्ने परम्परा निभाइरहेका छन्।
शास्त्रीय मान्यताअनुसार दिदीबहिनीको पूजाले ऐश्वर्य प्राप्ति हुने विश्वास रहिआएको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार टीका दिनभर लगाउन कुनै वाधा छैन, तर राज्य सञ्चालन गर्नेहरूले साइतमै टीका लगाउन उचित मानिन्छ।

तिहारको भाइटीकाको दिनलाई ‘यमद्वितीया’ पनि भनिन्छ। यस दिन टीका लगाइदिने दिदीबहिनी पूर्व र टीका लगाउने दाजुभाइ पश्चिम फर्कनुपर्ने उल्लेख समितिले गरेको छ। यसरी फर्किँदा तुला राशिमा रहेका चन्द्रमा सम्मुख पर्ने भएकाले यो दिशा शुभ मानिन्छ। शास्त्रीय दृष्टिले, शुभकर्मका बेला चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने मान्यता छ।

आजको दिनमा लक्ष्मी पूजाका क्रममा स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी अष्ट चिरञ्जीवी (मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम) सहित चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपति, वनस्पति र नवग्रह आदिको पूजा आराधना गरिन्छ।

त्यसपछि दिदीबहिनीहरूले परम्पराअनुसार तेलको धाराले छेकी टीका लगाइदिने, मखमली, सयपत्री वा गोदावरीका माला अर्पण गर्ने र आशीर्वाद दिने चलन छ।

यद्यपि पछिल्ला वर्षहरूमा सप्तरंगी टीकाको प्रचार भए पनि धर्मशास्त्रविद् तथा नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईका अनुसार भाइटीकामा पाँच रंगको टीका मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता छ।

उनका अनुसार रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँच रंगको टीका प्रयोग गर्नुपर्छ। टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला, सेलरोटी आदि अर्पण गर्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई कपडा, दक्षिणा र सौभाग्यका प्रतीक वस्तुहरू प्रदान गरी सम्मान र स्नेह प्रकट गर्छन्।