२१ जेष्ठ २०८२ , बुधबार

फाप्लु-काठमाडौं सातामा चार दिन नियमित उडान हुने

News
१२ जेष्ठ, काठमाण्डौँ ।

सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ। नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ। नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाडौँ हवाई सेवा पुनःसञ्चालन भएको हो। जहाज मर्मत सम्पन्न भएसँगै पुनःउडान सञ्चालन सम्भव भएको प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यले बताए।

नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुस महिनादेखि चैत्रसम्म सो मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो। सल्लेरीका व्यवसायी महेश अधिकारीले जहाज नियमित आउन थालेपछि काठमाडौँ जानआउन ‘बिपी राजमार्ग’ को कष्टकर सडक यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए।

पुनः सुचारु भएको उडानबाट पर्यटकीय जिल्लामा पर्यटन व्यवसायी उत्साहित बनेको ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए।