२६ जेष्ठ २०८२ , सोमबार

विषादीका कारण मौरी मरेपछि पाल्पाका किसान चिन्तित, लाखौंको क्षति

News
२३ बैशाख, काठमाण्डौँ ।

पाल्पाको रामपुर नगरपालिका–६ किसानटोलका जयनारायण न्यौपाने अहिले मौरीघार देख्दा विक्षिप्त छन्। मौरीघार उहाँलाई आम्दानीको स्रोतमात्र नभई दिन बिताउने माध्यम बनेको थियो। घारसँग रमाउँदै दिन कटाउने उहाँलाई घार देख्दा मन भारी भएर आउँछ।

किसान न्यौपानेका अनुसार घारमा रहेका मौरी मरेर सखाप भएपछि उहाँ चिन्तित भएका हुन्। एक्कासी मौरी मरेपछि उहाँलाई व्यवसाय निल्नु न ओकल्नुजस्तै बनेको छ। बगैँचामा मौरीसँगै भुलेर दिन कटाउन पाउँदा समय बितेको पत्तो हुँदैनथ्यो। यसरी नै मौरीको रेखदेख गरेर समय बिताउने गरे पनि हिजोआज भने मौरी बगैँचामा पस्न पटक्कै मन छैन।

छिमेकीले बालीनालीमा विषादी छरेका कारण फार्ममा भएका मौरी मरेर करिब रु सात लाख बराबरको नोक्सानी व्यहोर्नुपरेको उहाँ बताउनुहुन्छ। विषादीले ८५ गोलाघारमा तयार गरिएको मौरी सबै क्षति हुन पुगेको उहाँले सुनाउनुभयो। विसं २०५५ देखि ‘न्यौपाने मौरी उद्योग’ स्थापना गरेर मौरी उद्योग सञ्चालन गर्दै आउनुभएका न्यौपानेले पहिलोपटक ठूलो क्षति व्यहोर्नुपरेको जनाउनुभयो।

यस वर्ष उहाँ ६० घार गोलासहित मौरी बिक्री गर्ने तयारीमा हुनुहुन्थ्यो। विभिन्न ठाउँबाट मौरी तयार हुनुअगावै माग आइसकेको थियो। तर पठाउने तयारी गरिरहेको अवस्थामा एक्कासी मौरी सबै नष्ट हुनपुगेको छ।

लामो समयदेखि यस व्यवसाय सञ्चालन गर्दै आउनुभएका न्यौपानेले जीवनकालमै यस्तो महामारीका रूपमा क्षति भोग्नुपरेको सुनाउनुभयो। आफ्ना अभिभावक गुमाउँदाभन्दा बढी पीडावोध भएको दुःखेसो उहाँले व्यक्त गर्नुभयो।