नेपाली कांग्रेसका महामन्त्री गगनकुमारथापाले केही दिनदेखि अवरुद्ध रहेको संसद आज खुल्ने गरी छलफल भइरहेको बताएका छन्।
सुनसरीको इटहरीमा आज कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा महामन्त्री थापाले संसद सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको जानकारी दिए। "केहीबेरमा म संसद किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद खुल्छ," उनले भने।
तामाङ घेदुङको कोशी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका थापाले नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा संसदले आजैदेखि गति लिने उल्लेख गरे। उनले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक सङ्केत देखिएको बताउँदै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने बताए।