१२ असार २०८२ , बिहीबार

पाल्हीनन्दन गाउँपालिकाले किसानलाई धानको बीउ वितरण

News
१३ जेष्ठ, काठमाण्डौँ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरेको छ।

प्रतिकिलो रु ४५ को दरले किसानलाई धानको बीउ वितरण गरिरहेको पाल्हीनन्दन–६ निवासी बन्धु यादवले जानकारी दिए। यही जेठ २ गतेदेखि गाउँपालिकाले हर्दीनाथ, बहुगुडी, साभा एक नामक धानको बीउ ३८० किसानलाई वितरण गरिसकेको गाउँपालिकाका कृषि शाखा अधिकृत पशुपतिनाथ चौधरीले बताए।

उनका अनुसार हर्दीनाथ मध्यमखेतमा र बहुगुडी, साभा धान खाला खेतमा उत्पादन हुने धान हो। भारतबाट धानको बीउ ल्याउँदा महँगो पर्ने र बीउ राम्रो नहुने, उत्पादन कम हुने र प्रहरीले रोक्ने गुनासो आएपछि गाउँपालिकाले किसानको समस्यालाई मध्यनजर गर्दै धानको बीउ वितरण सुरु गरेको कृषि शाखा अधिकृत चौधरीको भनाइ छ।

धानमा कुनै समस्या आयो वा उत्पादन भएन भने बुद्ध सिड कम्पनीसँग कानुनबमोजिम किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ। रु पाँच लाख किसानको र पाँच लाख गाउँपालिकाको गरी रु १० लाख बराबरको धानको बीउ वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ। नागरिकता र लालपुर्जाको प्रतिलिपी लिएर आउने किसानलाई धानको बीउ वितरण गरिरहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए। गत वर्ष पनि गाउँपालिकाले किसानलाई धानको बीउ वितरण गरेको थियो।