२२ बैशाख २०८२ , सोमबार

पानी रोक्ने संरचना बनाए ध्वस्त पार्छौं: पाकिस्तानी रक्षामन्त्रीको भारतलाई चेतावनी

News
२० बैशाख, काठमाण्डौँ ।

पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भारतलाई चेतावनी दिँदै पाकिस्तानको पानी रोक्ने वा दिशा परिवर्तन गर्ने कुनै पनि संरचना बनाए त्यसलाई ध्वस्त पार्ने चेतावनी दिएका छन्।

पाकिस्तानी निजी च्यानल जिओ न्यूजको कार्यक्रम 'नया पाकिस्तान' मा बोल्दै रक्षामन्त्री आसिफले भने, "यदि भारतले सिन्धु जल सन्धिको उल्लंघन गरी पानी रोक्ने वा दिशा मोड्ने कुनै संरचना बनाउँछ भने त्यसलाई पाकिस्तानविरुद्धको आक्रमण मानिनेछ र हामी त्यो संरचनालाई ध्वस्त पार्नेछौं।"

उनले सिन्धु जल सन्धिको उल्लंघन गर्नु पाकिस्तानविरुद्ध युद्धको घोषणा हुने समेत बताए। "कुनै पनि आक्रमण तोपको गोला वा बन्दुक चलाउनेसम्म मात्र सीमित हुँदैन, यसका धेरै रूप छन्, जसमा यो पनि एक हो। यसले देशका मानिसहरू भोका वा प्यासी मर्न सक्छन्," उनले थपे।

हालै अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। भारतले सन् १९६० को सिन्धु नदी जल सम्झौतालाई निलम्बन गर्ने निर्णय पनि गरेको छ।

यसअघि सिन्धु जल सम्झौतामा पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टोको अभिव्यक्तिमा भारतमा कडा प्रतिक्रिया आएको थियो।

बिलावल भुट्टोले पाकिस्तानको सिन्ध प्रान्तको सुक्खरमा आयोजित एक र्‍यालीमा भनेका थिए, "कि त सिन्धु नदीबाट हाम्रो पानी बग्छ, कि त उनीहरूको रगत बग्छ।" उनको अभिव्यक्तिलाई लिएर भारतका नेताहरूले कडा प्रतिक्रिया दिएका थिए।