'पहाडकी रानी'का रूपमा परिचित बन्दीपुरको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय विविधतालाई उजागर गर्ने उद्देश्यले गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका मधुपर्कको 'बन्दीपुर विशेषाङ्क' लोकार्पण गरिएको छ।
आइतबार आयोजित विशेष समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, मधुपर्कका सम्पादक त्रिभुवन वाग्ले, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, बन्दीपुर भ्रमण वर्षका संयोजक वैशबहादुर गुरुङ, समाजसेवी नमस्ते लालभूमि र शिवलाल प्रधानले संयुक्त रूपमा विशेषाङ्कको लोकार्पण गरेका हुन्।
२०८२ साल जेठ महिनाको विशेषाङ्कमा बन्दीपुरको इतिहास, संस्कृति, प्रकृति, पर्यटकीय सम्भावना, पुराना भवन तथा सम्पदा, जात्रा-पर्व, मौलिक जीवनशैली र स्थानीय पहिचानसँग जोडिएका साहित्यिक रचना, संस्मरण र तस्बीरहरू समावेश गरिएको छ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले बन्दीपुर विशेषाङ्क साँच्चिकै अर्थपूर्ण भएको बताउँदै यसमा बन्दीपुरसँग सम्बन्धित महत्त्वपूर्ण सामग्रीहरू समेटिएको बताए। उनका अनुसार यो विशेषाङ्क पढ्ने जोकोहीले बन्दीपुरको विविधता र समृद्धिलाई बुझ्न सक्नेछन्। गत वर्ष फागुनमा मधुपर्कले नेपालका ४० जना स्रष्टालाई बन्दीपुरमा लगेर 'राष्ट्रिय सिर्जना सम्मेलन' आयोजना गरेको थियो, जसमा सहभागी भएका रचनाकारका साथै अन्य स्रष्टाका रचनासमेत यस अङ्कमा प्रकाशित छन्।
मधुपर्कका सम्पादक वाग्लेले यो अङ्क तयार पार्न निकै मेहनत गरिएको बताए। सामान्यतया ८० पृष्ठको हुने मधुपर्क यसपटक ११२ पृष्ठको बनेको छ। साहित्य र पर्यटनको संयोजनमार्फत गोरखापत्र संस्थानले उत्कृष्ट प्रयास गरेको उनको भनाइ छ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले मधुपर्कमार्फत बन्दीपुरको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले स्थानीय सरकारका तर्फबाट यस्ता कार्यलाई सधैँ स्वागत गर्ने बताए। साहित्यिक रूपमै ठाउँको पहिचान बनेर जानु गौरवको कुरा भएको उनको भनाइ छ।
बन्दीपुर प्राचीन पुरातात्विक सम्पदाले भरिपूर्ण गन्तव्य हो। यहाँ टँुडिखेल, सहिदपार्क, सिद्ध गुफा, थानीमाई, खड्गमाई र बिन्दबासिनी मन्दिर, मणि मुकुन्देश्वरी पदमार्ग, मिनी ग्रेटवाल, रानीवन, तीनधारा पिकनिक स्पट, गुम्बा, रामकोट, कोरीखा, धरमपानी होमस्टे, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशम खेती, मौरीपालन र च्याउ उत्पादन केन्द्र जस्ता प्रमुख आकर्षणहरू रहेका छन्।
नेवार, मगर, गुरुङलगायत जातजातिका सांस्कृतिक भेषभूषा र परम्परागत रीतिरिवाज पनि पर्यटकका लागि थप आकर्षण बनेका छन्। हिमालको लहर एकै फ्रेममा देखिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक बन्दीपुरमा रमाउने गरेका छन्। डुम्रे बजारबाट करिब ८ किलोमिटरको यात्रा गरेपछि पुगिने बन्दीपुर बजार हाल केवलकारबाट पनि पुग्न सकिन्छ। ठुलढुङ्गाबाट बरालथोकसम्म सञ्चालनमा ल्याइएको केवलकार सेवाले सात मिनेटमै पर्यटकलाई बन्दीपुर पुर्याउने हुँदा आवागमन थप सहज भएको छ।