१७ जेष्ठ २०८२ , शनिबार

आर्थिक सर्वेक्षण र बजेट पेस गर्न विपक्षी दलको सहमति

News
१५ जेष्ठ, काठमाण्डौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूले सदनमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्न दिने भएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गर्दै आइरहेका विपक्षी दलहरू आजको बैठक सञ्चालन गर्न सहमत भएका हुन्।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भ हुनेबित्तिकै विपक्षी दलका सांसद आसनबाट उभिएका थिए। सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय उपलब्ध गराउनुभएको थियो।

प्रमुख सचेतक पाण्डेले आर्थिक सर्वेक्षण र आगामी आर्थिक वर्षको बजेट पेस गर्नका लागि मात्रै आफूहरुले सदनमा अवरोध नगरेको अवगत गराउँदै उक्त विषय निरुपण नभएसम्म आगामी बैठकमा विरोध जारी रहने बताएका छन्।

बैठकमा अहिले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गरिरहनुभएको छ। आजै अपराह्न ३ः०० बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।