नुवाकोटमा बाढीमा बेपत्ता भएकी महिलाको खोजीका लागि सशस्त्र प्रहरी बलले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखा बलम्बुबाट दुईवटा कुकुरसहित सात जनाको टोली नुवाकोट पठाइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदाल धौवजीले जानकारी दिएका छन्।
ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीमा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन्। उनको खोजीका लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा सातजना सुरक्षाकर्मीसहित दुईवटा सर्च एण्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको हो।
बेपत्ता व्यक्तिको खोजी तथा उद्वारका लागि आज बिहानदेखि नै सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं १९ गुल्म नुवाकोट र सुरक्षा बेस बञ्चरेडाँडाबाट ६५ जना सुरक्षा फौज परिचालन भएको छ। बाढीले सोही ठाउँमा रहेको तीनवटा गोठ बगाउँदा अशोक बलामी घाइते भएका थिए, जसलाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ। साथै, केही चौपाया बाढीले बगाएको प्रहरीले जनाएको छ।