भारतका विदेश मामिला जानकार रबिन्दर सचदेवले काश्मिर मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नहुने भारतको अडानलाई पुनः दोहोर्याएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिरमा मध्यस्थता गर्ने प्रस्ताव गरेको विषयमा प्रतिक्रिया दिँदै सचदेवले यस्तो धारणा व्यक्त गरेका हुन्।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै सचदेवले भने, "हाम्रो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका छैन।" उनले अमेरिका एक महाशक्ति भएको र अमेरिकासँग भारतको राम्रो र रणनीतिक सम्बन्ध रहेको बताए। "राष्ट्रपति ट्रम्प शान्ति प्रवद्र्धक बन्न चाहनुहुन्छ," उनले थपे।
अमेरिकाले युक्रेन र गाजासँग मध्यस्थताको प्रस्ताव गरिरहेका उदाहरण प्रस्तुत गर्दै सचदेवले ती प्रयासहरूले अझै शान्ति स्थापना गर्न नसकेको बताए। ट्रम्पले सामाजिक सञ्जालमा काश्मिरको समाधानका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको दाबीलाई निरन्तरता दिएका छन्।
भारतीय विदेश मामिलाविद् सचदेवले संयुक्त राज्य अमेरिकाले भारतलाई ऐतिहासिक र वीरतापूर्ण निर्णयमा पुग्न मद्दत गर्न सक्षम भएको र आफूलाई गर्व लागेको ट्रम्पको भनाइ उद्धृत गरे। ट्रम्पले भारत र पाकिस्तान दुवैसँग व्यापारमा उल्लेख्य वृद्धि गर्न गइरहेको र काश्मिरको बारेमा कुनै समाधानमा पुग्न सकिन्छ कि भनी काम गर्न चाहेको बताएका थिए।
भारतले बारम्बार जम्मू–कश्मीरको विषयमा तेस्रो पक्षको हस्तक्षेपलाई अस्वीकार गर्दै आएको छ र यो क्षेत्र भारतको अभिन्न अङ्ग हो भन्ने स्पष्ट पारेको छ। सचदेवले भारत अमेरिकासँग ‘बहुआयामिक रणनीतिक मोर्चा’मा सहकार्य गर्न इच्छुक रहेको बताए।
एएनआईसँगको कुराकानीमा उनले पाकिस्तानविरुद्ध भारतले चालेको कदमको प्रशंसा गर्दै विश्व र पाकिस्तानका लागि यो सन्देश गएको बताए। भारतको सिद्धान्त अब ‘टिट फर ट्याट’ (जस्तालाई त्यस्तै) हुने उनको भनाइ थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानबीचको शत्रुता अन्त्य भएकोमा स्वागत गर्दै यदि शान्ति कायम नभएको भए लाखौँ मानिसको ज्यान जान सक्ने बताएका थिए।