१८ जेष्ठ २०८२ , आईतवार

इजिप्टका लागि नेपाली राजदूत लम्सालले लेबनानका राष्ट्रपतिको समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

News
१७ जेष्ठ, काठमाण्डौँ ।

इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले लेबनान गणराज्यका लागि नेपालको गैरआवासीय तथा विशेष प्रतिनिधि राजदूतका रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

बेरुतस्थित राष्ट्रपति भवनमा आज आयोजित एक समारोहबीच लेबनान गणराज्यका राष्ट्रपति जनरल जोसेफ आउनसमक्ष उनले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्। उक्त अवसरमा लेबनानका परराष्ट्र तथा प्रवासी मामिलामन्त्री युसेफ राज्जी तथा लेबनानी सरकारका अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

समारोहअघि सैनिक ब्यान्डद्वारा नेपाल र लेबनानका राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। त्यसपछि सम्मान गारत प्रदान गरिएको थियो। आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत लम्सालले राष्ट्रपति आउनसँग शिष्टाचार भेटवार्ता पनि गरेका थिए।

राजदूत लम्सालले विभिन्न क्षेत्रमा नेपाल र लेबनानबीच द्विपक्षीय आदानप्रदानको बढ्दो सम्भावनाहरूमाथि प्रकाश पार्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध बढ्दै र विविधीकरण हुँदै जाने आशा व्यक्त गरेका थिए।

राष्ट्रपति आउनले लेबनानका लागि नेपालको राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नुभएकामा उनलाई बधाई दिँदै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध भविष्यमा उन्नत र सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए।