नेपालको सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको न्यायिक प्रतिनिधिमण्डलले लन्डनमा महत्वपूर्ण भेटघाट गरेको छ।
२७ अप्रिलमा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लन्डन आइपुगेको प्रतिनिधिमण्डलमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल, विशेष अदालतका न्यायाधीश रीतेन्द्र थापा, उच्च अदालतका न्यायाधीश हेमन्त रावल र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल संलग्न थिए।
बेलायत भ्रमणका क्रममा प्रधानन्यायाधीश राउतले २९ अप्रिलमा संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरसँग उहाँकै कार्यकक्षमा भेट गरेका थिए। सो भेटघाटका क्रममा दुई न्यायाधीशले सद्भावना पत्रमा हस्ताक्षर आदानप्रदान गरेका थिए, जसले नेपाल र संयुक्त अधिराज्यको सर्वोच्च अदालतबीच लामो समयदेखिको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
सद्भावना पत्रमा हस्ताक्षर नेपाल र बेलायतको न्यायिक इतिहासमा महत्त्वपूर्ण कोसेढुङ्गा भएको प्रतिनिधिमण्डलको विश्वास छ। सो अवसरमा उहाँहरूले न्यायिक अभ्यास र अनुभवका विभिन्न पक्षमा छलफल गर्नुभएको थियो। न्यायिक अधिकारीहरूलाई तालिम दिने, कुशल न्याय प्रशासनको अनुभव साझा गर्ने, फैसलाको मस्यौदा तयार गर्ने र न्यायिक अभ्यासहरू जस्ता क्षेत्रहरूमा सहकार्य गर्न उहाँहरु सहमत हुनुभएको छ। उहाँहरूले कानुनी शासन कायम राख्न सहयोग प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
प्रधानन्यायाधीश राउतले इङ्ग्ल्याण्ड र वेल्सका महिला प्रधानन्यायाधीश ब्यारोनेस कार अफ वाल्टन–अन–द–हेलसँग दुई देशका न्यायिक संयन्त्रबीचको सहकार्यका सम्भावनाबारे छलफल गर्नुभएको थियो। प्रधानन्यायाधीश राउतले बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसँग पनि भेट गर्नुभयो। भेटघाटका क्रममा दुई विशिष्ट व्यक्तित्वले संसद् र न्यायपालिकाबीचको सम्बन्धसहित पारस्परिक हितका विभिन्न द्विपक्षीय विषयमा छलफल गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।
सोही दिन प्रधानन्यायाधीशसँग इङ्ग्ल्याण्ड र वेल्सको न्यायपालिकाका न्यायाधीश रोबिन नोल्स, लर्ड जस्टिस डिङ्गेमेन्स, अन्तरराष्ट्रिय न्यायिक टोलीका लर्ड जस्टिस स्नोडेन, श्रीमती एडी, एडवर्ड लर्ड गार्नियर, किंग्स कलेज लन्डनका प्रोफेसर जेम्स ली र हाउस अफ कमन्सका सांसद डेभिड स्मिथ जस्ता प्रवुद्ध व्यक्तित्वहरूसँग भेट गर्नुभएको थियो। भेटमा उहाँहरूले न्यायिक प्रणालीका विभिन्न आयाम र सहयोगका सम्भावित क्षेत्रहरूबारे छलफल गर्नुभयो। प्रधानन्यायाधीश राउतले बेलायतको न्यायिक प्रणालीका प्रमुख व्यक्तिहरूसँगको बैठकमा भाग लिनुभयो, जसमा ‘जुडिसियल अपोइन्टमेन्ट कमिस्नर’ तनवीर इकराम, इङ्ग्ल्याण्ड र वेल्सको बार अध्यक्ष श्रीमती बारबरा मिल्स केसी र बार काउन्सिलको अन्तरराष्ट्रिय समितिका अध्यक्ष ह्यु मर्सर केसी पनि हुनुुहुन्थ्यो।
राजदूत चन्द्रकुमार घिमिरेले दूतावासमा प्रधानन्यायाधीश राउत नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा स्वागत समारोह आयोजना गर्नुभयो। स्वागत समारोहमा संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरसहित बेलायतको न्यायिक प्रणाली र समाजका प्रतिष्ठित व्यक्तित्व उपस्थित थिए। गत १ मेमा नेपाली प्रतिनिधिमण्डलले बेलायतको न्यायिक क्षेत्रका प्रमुख व्यक्तित्वहरू ओल्ड बेली (केन्द्रीय फौजदारी अदालत) का एन्थोनी लियोनार्ड केसी र सारा ह्वाइटहाउस साथै इनर टेम्पल इन्टरनेशनल कमिटीका अध्यक्ष किरोन बिल केसीसँग अन्तक्र्रिया गरेको थियो। बेलायत बसाइको क्रममा प्रतिनिधिमण्डलले दुई देशको न्यायिक प्रणाली र अभ्यासहरूको बारेमा जान्न र अन्तर्दृष्टि आदानप्रदान गर्न स्कटल्याण्डको भ्रमणसमेत गरेको थियो।