२३ बैशाख २०८२ , मंगलवार

कृषि उत्पादन बढाउन सरकारको नयाँ योजना, मल कारखाना स्थापना गर्ने तयारी

News
१९ बैशाख, काठमाण्डौँ ।

सरकारले कृषि उत्पादन बढाउन, खाद्य सुरक्षा कायम गर्न र किसानको आम्दानी बढाउन नयाँ कार्यक्रम ल्याउने भएको छ। मुख्य बाली, पशुपन्छी र माछा पालनलाई लक्षित गरी कार्यक्रम ल्याइनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिमा विविधतालाई प्राथमिकता दिइने बताएका छन्।

कृषि उत्पादन, वितरण, भण्डारण र उपभोगलाई पोषणसँग जोडेर अगाडि बढाइनेछ। राष्ट्रपतिले पुष्पलाल मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, बिपी राजमार्ग, हुलाकी राजमार्ग र करिडोरलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाइने पनि बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई नयाँ रूपमा अगाडि बढाइनेछ।

सरकारले माटोको गुणस्तर जोगाउन प्राङ्गारिक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ। साथै, रासायनिक मलको मूल्य र वितरण प्रक्रियालाई व्यवस्थित गर्ने र मल कारखाना स्थापना गर्न आवश्यक काम गर्ने योजना छ।

राष्ट्रपति पौडेलले भने, “रसायन र विषादीको प्रयोगलाई कम गर्न र जैविक विविधता जोगाउन आवश्यक कदम चालिनेछ। कृषि, पशुपन्छी र खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ।” सरकारले कृषियोग्य जमिनको संरक्षण, बाँझो जमिनको प्रयोग, र करार खेतीलाई प्रोत्साहन गर्नेछ। जङ्गली जनावरबाट हुने क्षति कम गर्न प्रविधिको प्रयोग गरिनेछ।

कृषि सेवालाई सहज बनाउन डिजिटल प्रणाली विकास गर्ने, क्वारेन्टाइन र प्रयोगशालालाई राम्रो बनाउने, कृषि अनुसन्धानलाई किसानको आवश्यकता अनुसार बनाउने सरकारको योजना छ। “दुग्ध पदार्थ, ऊन र मासुजन्य वस्तुको उत्पादन र निर्यात बढाइनेछ। पशुपन्छीमा लाग्ने रोग नियन्त्रणका लागि खोप कार्यक्रम चलाइनेछ। नेपालका लागि आवश्यक पर्ने खोप उत्पादन गर्न प्रोत्साहन गरिनेछ। कृषि क्षेत्रमा दिइने अनुदान वास्तविक किसानले मात्र पाउने व्यवस्था मिलाइनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ। कृषि बिमाको दायरा बढाउनुका साथै विपन्न किसानलाई सहुलियतपूर्ण ऋण र परिचय-पत्रसहित सेवा सुविधा दिने सरकारको योजना छ।