१७ जेष्ठ २०८२ , शनिबार

सरकारबाट आगामी वर्षका लागि अबण्डामा रू ७८ अर्बभन्दा बढी बजेट विनियोजन

News
१५ जेष्ठ, काठमाण्डौँ ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ विविध अर्थात् अबण्डा शीर्षकमा रू ७८ अर्ब ३५ करोड ४३ लाख बराबरको बजेट छुट्याएको छ ।

सङ्घीय संसदको संयुक्त बैठकमा आज पेस भएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार कुल विनियोजित रकमको करिब चार प्रतिशत रकम अबण्डा राखिएको हो ।

आगामी आर्थिक वर्षका लागि अर्थ विविध शीर्षकमा राखिएको रू ७८ अर्ब ३५ करोड ४३ लाख बराबर बजेटको स्रोतका रुपमा आन्तरिक र बाह्य ऋणलाई देखाइएको छ । जसमध्ये आन्तरिक ऋणबाट रू ७१ अर्ब २६ करोड ११ लाख र बाह्य ऋण बाट रू सात अर्ब नौ करोड ३२ लाख बराबर स्रोत व्यहोरिने बजेटमा उल्लेख छ ।

कुनै योजना तथा कार्यक्रम नखुलाईकन ठूलो रकम बजेटमा राख्दा वित्तीय अनुशासन पालना हुन नसक्ने र तजबिजी खर्च बढ्ने भन्दै महालेखापरीक्षकको कार्यालयले समेत हरेक वर्ष समस्या औंल्याउँदै आएको छ । तर पनि सरकारले अबण्डा शीर्षकमा ठूलो रकम राख्ने परिपाटी हटाउन सकेको देखिँदैन ।