चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता रु दुई खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको समीक्षा अनुसार सो अवधिमा शोधनान्तर रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा छ।
चालु आवको नौ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भइ रु एक खर्ब ८८ अर्ब २० करोड पुगेको छ भने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई रु १३ खर्ब नौ अर्ब ५३ करोड पुगेको छ। समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर रु ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ।
चालु आवको नौ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि करिब छ लाख ८ हजारले श्रम स्वीकृति लिएका छन्। आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा ९९ हजार छ सय ६२ विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका छन्।
चालु आवको नौ महिनासम्ममा औसत उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमाभित्रै छ। चालु आवको नौ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ। वार्षिक बिन्दुगत आधारमा गत चैतमा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत छ। जुन विसं २०८० चैतमा ४.६१ प्रतिशत थियो।