नेपाल र चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि गुइलिनमा साङ्गीतिक तथा अवार्ड कार्यक्रम आयोजना गरिएको छ। एसएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टको आयोजनामा तेस्रो एसएमएस नेपाल-चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन सम्मान तथा पुरस्कार, २०८१ सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल र चीनका विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए। नेपालकोतर्फबाट देविका वन्धन, कमल खत्री र राष्ट्रिय गतिशील कला समूहका कलाकारहरुले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए भने चिनियाँ कलाकारहरुले पनि मौलिक नाच र गीत प्रस्तुत गरेका थिए।
एसएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले कार्यक्रम नेपाल र चीनबीचको मित्रता, संस्कृति, कला र पर्यटन प्रवर्द्धनको सेतु भएको बताइन्। सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले दुई देशबीचको सम्बन्ध लामो समयदेखि रही आएको उल्लेख गर्दै अरनिको र भृकुटीले नेपाल-चीनबीचको सम्बन्ध बलियो बनाउन इतिहासमा पुर्याएको योगदानको चर्चा गरे।
कार्यक्रमका प्रमुख अतिथि गुइलिन संयुक्त मोर्चा कार्यविभागका मन्त्री ब्लाङ सिएन फिङले दुवै देशबीचको यस कार्यक्रमले नागरिकस्तरमा पनि सम्बन्ध विस्तारमा सहयोग पुगेको बताए।
सगरमाथा आरोही मिड्ना डेम्ब शेर्पाले हिमाल आरोहणमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिनेमा जोड दिए। कार्यक्रममा गायिका देविका वन्दनालाई इमर्जिङ सिंगर अवार्ड र गायक कमल खत्रीलाई उत्कृष्ट गायकको अवार्ड प्रदान गरिएको थियो।
एसएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक थुप्तेन ग्याल्बो मोक्तानले यस प्रकारका कार्यक्रमले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध, मित्रता र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।