राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
आज विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।
त्यस्तै, सहरी विकास, सञ्चार, ऊर्जा, भौतिक, कृषि, रक्षा अर्थ, शिक्षा, श्रम, युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुहुनेछ।
आजै अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२, राष्ट्र ऋण उठाउने विधेयक, २०८२ विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू राष्ट्रियसभामा प्रस्तुत गर्नुहुनेछ। विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भन्सार विधेयक, २०८० माथि छलफल गरियोस र पारित गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछ।
बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने’ कार्यसूची रहेको छ।