२२ बैशाख २०८२ , सोमबार

राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा वैशाख २२ र २३ गते छलफल हुने

News
१९ बैशाख, काठमाण्डौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा यही वैशाख २२ र २३ गते छलफल हुने भएको छ।

राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि छलफल गर्न उक्त दिन निर्धारण गरिएको जानकारी गराए।

अध्यक्ष दाहालले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वको आधारमा गर्न सांसदहरूको नाम बैठक प्रारम्भ हुनुभन्दा एक दिन अगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन आग्रह गरे।

उनले नीति कार्यक्रममाथि संशोधन राख्न चाहने सदस्यहरूले सोको सूचना यही वैशाख २१ गते बिहान ११ बजेदेखि अपराह्न २ बजेभित्र कार्यव्यवस्था शाखा (राष्ट्रियसभा) मा दिन सक्ने जानकारी गराए।

राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २१ गते अपराह्न १२ः१५ बजे बस्नेछ।