सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा आधुनिक र गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिएको छ। संसदमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट वक्तव्यमा आधुनिक र गुणस्तरीय पूर्वाधार निर्माण गरी मुलुकको आर्थिक सामाजिक विकासलाई तीव्रता दिइने जानकारी दिए।
सुरक्षित र भरपर्दो आवागमनका लागि दिगो सडक सञ्जालको विस्तार गरिनेछ। द्रुतमार्ग, अन्डरपास र ओभरपासजस्ता आधुनिक पूर्वाधारहरूको निर्माणलाई तीव्रता दिइनेछ। राष्ट्रिय राजमार्गलाई आवश्यकताका आधारमा दुई लेनदेखि आठ लेनसम्मको गतियुक्त र सुरक्षित सडकमा स्तरोन्नति गर्दै लगिने तथा सडकको नियमित मर्मतसम्भार गरी दिगो रूपमा सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख छ।
"आर्थिक, प्राविधिक र वातावरणीय दृष्टिले उपयुक्त देखिएका स्थानमा मात्र सडकका लागि नयाँ ट्र्याक खोल्ने नीति लिइनेछ। सडक पूर्वाधार निर्माण गर्दा सुरुङ प्रविधिको प्रयोग विस्तार गर्दै लगिनेछ। आगामी आर्थिक वर्षमा नागढुङ्गा र सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गर्न २ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ। वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ओभरपास र अन्डरपासजस्ता वन्यजन्तुमैत्री पूर्वाधार संरचना निर्माण गरिनेछ," मन्त्री पौडेलले भने, "सहरी तथा संवेदनशील भू–बनोट भएका क्षेत्रमा गुणस्तरीय र दिगो सडक निर्माण गर्न सिमेन्ट, छड, गिट्टी र बालुवा प्रयोग गरी आरसिसी ढलानसहित कालोपत्र गरिनेछ। यसबाट स्वदेशी निर्माण सामग्रीको खपत वृद्धि हुने र सडक पूर्वाधार टिकाउ हुने विश्वास छ।"
बन्द अवस्थामा रहेको काठमाडौँ–हेटौँडा रोपवेको विकल्पमा नवीन प्रविधिमा आधारित ‘पोडवे’को सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम विनियोजन गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रमा केबुलकार सञ्चालनलाई प्रोत्साहन गरिने र वीरेठाँटी–मुक्तिनाथ केबलकार निर्माण गर्न निजी क्षेत्रलाई सहजीकरण गरिनेछ।
"आगामी दुई वर्षभित्र पूर्व–पश्चिम राजमार्गको कांकडभिट्टा–लौकही, कमला–कञ्चनपुर, कमला–बागमती, बागमती–पथलैया, बुटवल–नारायणगढ र बुटवल–गोरुसिङ्गे खण्डको ४२२ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गरिनेछ। पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया खण्ड स्तरोन्नति कार्य आगामी आर्थिक वर्षमा सुरु गरिनेछ। यसका लागि २१ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएको छ," उनीले भने, "आर्थिक वर्ष २०८२/८३ मा पर्यटन प्रवद्र्धन तथा आर्थिक क्रियाकलाप विस्तारका दृष्टिले उच्च सम्भावना रहेको सिद्धार्थ राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने कार्य प्रारम्भ गरिनेछ।"
यात्राको समय, लागत, दूरी र दुर्घटना घटाउन पुष्पलाल मध्यपहाडी राजमार्गको विद्यमान रेखाङ्कन परिमार्जन गरिनेछ। यस राजमार्गलाई सुरुङ र भायाडक्ट प्रविधिसहितको डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्न पूर्वतयारी गरिने योजना छ। बजेट वक्तव्यअनुसार यसका लागि ३ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरिएको छ।