हिमाली जिल्ला मुस्ताङमा सन् २०२५ को पहिलो चार महिनामा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार, जनवरीदेखि अप्रिल अन्तिमसम्म कुल ५१ हजार ८९६ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।
यो सङ्ख्या गत वर्ष सन् २०२४ को सोही अवधिको तुलनामा ३६.६६ प्रतिशतले बढी हो । सन् २०२४ को पहिलो चार महिनामा ३७ हजार ९७४ विदेशी पर्यटक मुस्ताङ आएका थिए । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले मुस्ताङमा विदेशी पर्यटकको आगमन अप्रत्याशित रूपमा बढेको बताए ।
उनका अनुसार, सन् २०२५ को चार महिनामा भित्रिएका पर्यटकमध्ये सार्क राष्ट्रका नागरिकको बाहुल्यता रहेको छ । कुल पर्यटकमध्ये ४३ हजार १५१ जना (८३ प्रतिशत) सार्क राष्ट्रका र ८ हजार ७४५ जना (१७ प्रतिशत) अन्य मुलुकका रहेका छन् ।
आगमनको मासिक तथ्याङ्क हेर्दा, जनवरीमा ४,३४६, फेब्रुअरीमा ५,३३०, मार्चमा १९,०९५ र अप्रिल महिनामा सबैभन्दा बढी २३,१५२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।
मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङले मुस्ताङको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा अवलोकन गर्न विदेशी पर्यटक आकर्षित हुने गरेको बताए । उनका अनुसार, विशेषगरी हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ दर्शनका लागि छिमेकी मुलुक भारतबाट ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेका छन् ।
मुक्तिनाथ मन्दिरका साथै उपल्लो मुस्ताङको कोरलानाका, छोसेर गुफा, लोमान्थाङ दरबार, विभिन्न ऐतिहासिक गुम्बाहरू (निफुक, लोघेकर, चराङ, लुरी), दामोदरकुण्ड, कागबेनीधाम, जोमसोम बजार, मार्फा गाउँ, ढुम्बा ताल, सेकुङ ताल र टिटी ताल जस्ता पर्यटकीय गन्तव्यले गर्दा मुस्ताङ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक घुमफिरको केन्द्र बनेको छ ।