८ जेष्ठ २०८२ , बिहीबार

मुन्दुम पदमार्गका विशेषता चित्रमा, चित्रकारले क्यानभासमा उतारे

News
८ जेष्ठ, काठमाण्डौँ ।

सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरूले क्यानभासमा उतारेका छन्। पदमार्गको प्रवर्द्धनका लागि आयोजित ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’ मार्फत चित्रकारहरूले यसका विशेषतालाई चित्रमा समेटेका हुन्।

पर्यटकीय स्थल चखेवामा आयोजना गरिएको कार्यशालामा २० जना राष्ट्रिय कलाकारले पदमार्गमा देखिने रेडपाण्डा (हाब्रे), किरात संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो (वाबुक) र स्थानीयको वेशभूषालाई चित्रमा उतारेका हुन्।

चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्यसहित क्यानभासमा टेम्केमैयुङ राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए। मुन्दुम पदमार्गलाई योग, ध्यान केन्द्रको रूपमा स्थापित गराउने लक्ष्य रहेको उनले बताए।

तीनदिने कार्यशालामा बनाइएका चित्रलाई काठमाडौँमा प्रदर्शनी गरिने उनले बताए। कार्यशालाको समापन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो। कार्यशालाका माध्यमबाट मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै कला र संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ।