थानाभर्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार मृत्यु हुनेमा हेटौँडा–११, नवलपुरका २४ वर्षीय उमेश तामाङ रहेका छन्।
बुधबार राति करिब १०ः५५ बजे थानाभर्याङबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २०३–०१३ प ४९२१ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किएर अन्दाजी ५० फिट तल खसेको थियो। दुर्घटनामा मोटरसाइकल पछाडि सवार तामाङ गम्भीर घाइते भएका थिए। उनलाई थानाभर्याङस्थित सीएमसी चुरेहिल हस्पिटल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–११, नवलपुरका ३६ वर्षीय रोहित भन्ने मान बहादुर रुम्बा घाइते भएका छन्। उनको टाउको, बायाँ हात र खुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।