११ जेष्ठ २०८२ , आईतवार

मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान, प्राधिकरणले थाल्यो पूर्वतयारी

News
११ जेष्ठ, काठमाण्डौँ ।

 यस वर्षको मनसुन सुरु भएसँगै मुलुकमा मनसुनजन्य विपद्बाबाट २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ। मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको विश्लेषणमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको हो।

प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए। “हामीले अबको मनसुनमा २० लाख मानिस प्रभावित हुने आँकलन गरेका छौँ, देशका सबै प्रदेश प्रभावित हुने छन्, त्यही अनुसारका तयारी गर्न क्षेत्रगत रूपमा जिम्मेवारी समेत तोकिएको छ,” उनले भने, “मौज्दात सामग्री के छ? कति थप आवश्यक पर्दछ? भन्ने सबै विषय आँकलन गरेर कार्ययोजना तयार पारेका हौँ।”

गृहमन्त्रीको अध्यक्षतामा बस्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पेस हुने जनाउँदै प्रवक्ता केसीले सोही बैठकबाट पारित भएपछि कार्यान्वयनमा जाने उल्लेख गरे। यसपाली प्रस्तावित कार्ययोजनामा हरेक एक/एक महिनामा विपद्को अवस्थाका विषयमा अनुगमन, मूल्याङ्कन तथा समीक्षासमेत गर्ने योजना अघि सारिएको छ।

जल तथा मौसम विज्ञान विभागले कर्णाली प्रदेशको पूर्वीभूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभाग वर्षाबाट बढी प्रभावित हुनसक्ने उल्लेख गरेको छ। यही जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहनुका साथै अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन्।