मङ्गोलियामा चालु वर्षको सुरुदेखि हालसम्म ८९ वटा वन र घाँसे मैदानी क्षेत्रमा आगलागी भएको छ। ती डढेलोबाट सात लाख ४८ हजार आठ सय दुई हेक्टर क्षेत्रफल जलेर नष्ट भएको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जानकारी दिएको छ।
आगलागीका कारण करिब चार अर्ब ३० करोड मङ्गोलियाली मुद्रा बराबरको क्षति पुगेको सो निकायले जनाएको छ। सर्वसाधारणले आगोको लापरवाहीपूर्ण प्रयोग गर्नु तथा घाँस तथा फोहोर जलाउने जस्ता काम प्राकृतिक डढेलोका प्रमुख कारणहरू रहेको विज्ञहरूले बताएका छन्।
सुख्खा र हुरी युक्त मौसमका कारण वसन्त ऋतुमा मङ्गोलियाको अधिकांश भागमा एक्कासी डढेलो लाग्ने सम्भावना बढी रहेको जनाउँदै, सो निकायले आम जनतालाई डढेलो रोकथाममा सजग रहन आह्वान गरेको छ।