१२ असार २०८३ , शुक्रबार

आदिवासी जनजातिको विकासमा गम्भीर हुन प्रतिष्ठानलाई मन्त्रीको निर्देशन

News
२० जेष्ठ, काठमाण्डौँ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले देशको करिब ३७ प्रतिशत जनसङ्ख्या ओगटेका आदिवासी जनजातिको विकास र उत्थानको विषयमा गम्भीर भएर पहलकदमी लिन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई निर्देशन दिएका छन्।

प्रतिष्ठानको २५औँ सञ्चालक परिषद्को बैठकमा आज मन्त्री गुप्ताले नेपालमा आदिवासी जनजाति सूचीकरणको विषय निकै जटिल र पेचिलो भएको बताए।

हुम्लो समुदायलाई आदिवासी जनजातिभित्र सूचीकृत गर्ने विषय लामो समयदेखि छलफलमा रहेको सुनिएको भन्दै मन्त्री गुप्ताले सूचीकरणका लागि प्रतिष्ठानबाट आवश्यक कागजात प्राप्त भए मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस गरिने बताए।

प्रतिष्ठानको कार्यालय सञ्चालनका लागि हालसम्म आफ्नो भवन नहुँदा कामकाजमा समस्या भइरहेको गुनासोमा मन्त्री गुप्ताले प्रतिष्ठानको आफ्नै भवन निर्माणका लागि आवश्यक पहल गर्ने विश्वास दिलाए।

प्रतिष्ठानका सह–अध्यक्षसमेत रहनुभएका मन्त्री गुप्ताले कर्मचारीको आवश्यक वृत्तिविकाससँग जोडिएको नियमावली र विनियमावली संशोधनका लागि अध्ययन गरी पेस गर्न मन्त्रालयका सम्बद्ध अधिकारीलाई निर्नेशन दिए।

बैठक मङ्गलबार सम्पन्न हुने परिषद्ले जनाएको छ।