९ जेष्ठ २०८२ , शुक्रबार

खोटाङमा महुरे-फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ, निर्धारित समयमा सम्पन्न गर्न मन्त्रीको निर्देशन

News
५ जेष्ठ ,खोटाङ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे-फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गरेका छन्। तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको यस सडक आइतबार मन्त्री दाहालले औपचारिकरूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गरेका हुन ।

दिक्तेल-गाईघाट सडक खण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि सरकारले रु ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट-दिक्तेल सडक आयोजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए । उहाँका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रालि धादिङले लिएको छ भने, दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रालि काठमाडौँले लिएको छ। दिव्यज्योति कन्ट्रक्सन प्रालिले रु ४२ करोड लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ चैत १७ गते तथा रायमाझी कन्ट्रक्सन प्रालिले रु ४४ करोड लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ माघ २ गते सम्झौता गरेको हो। दुवै सडकखण्ड चार वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएका छन्।

फोक्सिङटारमा आयोजित सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने यस सडक कालोपत्रको काम समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो। "यो सडक तपाईँको व्यावसायिक काम मात्र नभइ राज्यप्रतिको उत्तरदायित्व पनि हो। तपाईले यो सडक कालोपत्र समयमा सम्पन्न हुनेछ। यसका लागि आवश्यक बजेट मन्त्रालयले अभाव हुन दिने छैन्," उनले भने , "कालोपत्र समयमा सम्पन्न गर्नका लागि जनस्तरबाट पनि खबरदारी आवश्यक छ। यो सडक दुई लेनको बन्ने छ। सडक बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको छ।"

मन्त्री दाहालले सुकोशीस्थित फोक्सिङटारको पक्की पुल पुनःनिर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए। गत असोज १२ गते आएको बाढीले बगाएको पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले रु ३५ करोड बजेट सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटार पुल पुनःनिर्माण हुने उहाँको भनाइ छ। यस सडक यसअघि पनि कालोपत्र सुरु गरिएको थियो। ठेकेदारको चरम लापरबाहीले समयमा सम्पन्न नभएपछि मन्त्रालयले ठेक्का तोडेर अर्को ठेकेदार कम्पनीसँग सम्झौता गरी पुनः कालोपत्र सुरु गरेको हो।