६ जेष्ठ २०८२ , मंगलवार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेसवायर जाली राख्ने कार्य सुरु

News
६ जेष्ठ, काठमाण्डौँ ।

डिभिजन वन कार्यालयले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि ‘मेसवायर जाली’ राख्ने कार्य सुरु गरेको छ। मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा यो काम सुरु गरिएको हो।

कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार माडी नगरपालिकाका छ वटा सामुदायिक वनमा मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि घेरबार (मेसवायर जाली) राख्न लागिएको हो। दुई हजार ८०० मिटर क्षेत्रफलमा यो जाली राखिने छ। "मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि हामीले मध्यवर्ती क्षेत्रमा पहिलोपटक काम थालेका छौँ। प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको रु एक करोड १५ लाखको लागतमा जाली राख्ने काम सुरु गरिएको हो," उनले भने।

सूचना अधिकारी पौडेलले भूक्षय नियन्त्रणसहितको काम भइरहेको र वन्यजन्तु बस्तीमा पसेर धनजनको क्षति न्यूनीकरण गर्न यो कार्यक्रम प्रभावकारी हुने बताए। वन्यजन्तु बस्तीमा बढी मात्रामा प्रवेश गर्ने मध्यवर्ती सामुदायिक वनमा जाली राखेर बस्ती पस्नबाट रोक्न लागिएको हो। जाली राखेसँगै वन्यजन्तु सहज रूपमा बस्ती पस्न सक्दैनन्। माडी क्षेत्रमा वन्यजन्तुले अन्नबाली, घरटहरामा क्षति पुर्याउँदै आएका छन्। यसका कारण यस क्षेत्रमा बढी मात्रामा मानव–वन्यजन्तुबीचको द्वन्द्व रहँदै आएको छ। यसको न्यूनीकरणका लागि प्रदेश सरकारले काम गरेको उनले जानकारी दिए।