२५ जेष्ठ २०८२ , आईतवार

भरतपुर अस्पतालमा एमबिबीएस कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरिएको छ : स्वास्थ्यमन्त्री पौडेल

News
२३ बैशाख, काठमाण्डौँ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भरतपुर अस्पतालमा चिकित्सा शिक्षातर्फको स्नातक तह ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव गरिएको बताएका छन्।

आज अस्पतालमा क्याथ ल्याब, वर्न वार्ड, फर्टिलिटी क्लिनिक, स्तनपान व्यवस्थापन कक्ष, सिमुलेसन ल्याब, बाल खेल उपचार कक्षलगायत सेवाहरू शुभारम्भ कार्यक्रममा उनले अस्पताललाई सबैखाले उपचार उपलब्ध गराउन सक्ने गरी विकसित गर्न विकास समिति, अस्पताल प्रशासन र मन्त्रालय निरन्तर लागिरहेको बताए।

मन्त्री पौडेलले भरतपुर अस्पताल प्रतिष्ठान नभएका कारण शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिएको उल्लेख गर्दैै स्वास्थ्य मन्त्रालयले छिटो कार्यक्रम सञ्चालन गर्न आन्तरिक कोषहरूबाटै रकम व्यवस्था गरेर अगाडि जान खोजेको बताए। यसै वर्ष अस्पताल विकास समिति र मन्त्रालयकोे साझेदारीमा कार्यक्रम सञ्चालनको पहल गर्ने उनको भनाइ छ।

अस्पताल व्यवस्थित नभएसम्म देशको स्वास्थ्य सेवा सुधारिएकोे महसुस हुन नसक्ने भन्दै मन्त्री पौडेलले सेवा सुधारका लागि जनशक्ति विकास गर्न छुट्टै स्वास्थ्य सेवा ऐन जारी भएकोे बताए।