धनकुटामा सशस्त्र प्रहरी बलले ठूलो परिमाणको गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ। आज बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका–६, नमस्ते झरनास्थित कोशी लोकमार्गमा सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन वेश मुलघाटको चेक प्वाईन्टमा डिएसपी सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारलाई शंका लागि जाँच गर्न खोज्दा भागेको थियो।
प्रहरीले पिछा गरेपछि कार अनियन्त्रित भई भित्तामा ठोक्किएको थियो। चालक भने फरार भएका छन्। कारभित्र १२ वटा पोकामा प्याक गरिएको ४२१ किलो गाँजा फेला परेको छ।
नियन्त्रणमा लिइएको कार र बरामद गाँजालाई थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ। फरार चालकको खोजी कार्य जारी रहेको छ।