२० जेष्ठ २०८२ , मंगलवार

दमकमा माओवादी केन्द्रको रुख रोप्ने अभियान

News
१८ जेष्ठ, काठमाण्डौँ ।

माओवादी केन्द्र दमकले यो वर्ष पनि रुख रोप्ने कार्यक्रमलाई निरन्तरता दिएको छ।

फलफूलमा आत्मनिर्भर हुने योजनाका साथ माओवादी केन्द्रले गत वर्षदेखि रुख रोप्ने कार्यक्रम सुरु गरेको थियो। यो वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो। माओवादी केन्द्र दमक नगर कमिटीका अध्यक्ष रवि बस्नेतले 'ग्रीन दमक, क्लिन दमक' नाम दिएर यो वर्ष २५ हजार रुख रोप्ने लक्ष्य राखेको र शनिबारदेखि रुख रोप्न सुरु गरेको बताए।

दमकको उत्तरी क्षेत्र हंसेदुम्से सामुदायिक वनको फोहोर फालेको सात बिघा जग्गामा दुई हजार रुख रोप्न थालिएको उनले बताए। रुख रोप्न स्थानीय मानिस र विभिन्न सङ्घसंस्थाका मानिसहरूले पनि सहयोग गरिरहेका छन्, अध्यक्ष बस्नेतले भने।

रुख रोप्ने कार्यक्रम दमकका १० वटै वडामा दुई महिनासम्म चल्नेछ। रुख रोप्ने अभियानको सुरुवात माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले गरे। रुख रोप्ने कार्यक्रम पार्टीको मात्र नभएर यो समाजकै अभियान भएको उनले बताए।

"यो पार्टीको मात्र कार्यक्रम होइन, सामाजिक अभियान हो। अघिल्लो वर्ष ५० हजार रुख दमकमा रोपिएको थियो, यो वर्ष २५ हजार रोप्ने कार्यक्रम छ। सबैजना जोडिनुपर्छ," उनले भने।

अमला, अम्बक, लिची, कागती, तेजपात, मसला, टिक, खयर, खमारी, टाँकी लगायतका रुखहरू रोपिने पार्टी जिल्ला कमिटी संयोजक राजु आचार्य (अग्नी) ले जानकारी दिए। एउटा घरले दुईवटा रुख रोप्ने नियमअनुसार रुख रोपिएको छ र रुखलाई पानी हालेको छ कि छैन भनेर वडाले हेर्ने गरेको पनि उनले बताए।