आगामी भदौदेखि नेपाली बजारमा आउने सबैखाले सुर्तीजन्य पदार्थका प्याकेटको शतप्रतिशत भागमा सरकारले तोकेको घातक चित्र अङ्कित तस्बिर र चेतावनीमूलक सन्देश राख्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 'सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१' स्वीकृत गरेको छ। त्यसको कार्यान्वयन १ भदौ २०८२ देखि हुनेछ।
नयाँ निर्देशिकामा चुरोट, खैनी, बिँडी र गुट्खाको बट्टा, प्याकेट र ¥यापर्सको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमध्ये ८० प्रतिशत भागमा क्यान्सर, मृत्यु जस्ता घातक रङ्गीन चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरिएको छ। मुखको क्यान्सर अङ्कित चित्र, हृदयघातको अङ्कित चित्र र फोक्सोको क्यान्सर अङ्कित चित्र राख्न भनिएको छ।
सुर्तीजन्य पदार्थको सेवनकर्ताले बट्टामा घिनलाग्दो रङ्गीन चित्र देखेपछि सेवन नगरून् भनेर नै सरकारले शतप्रतिशत घातक रङ्गीन चित्रको व्यवस्था गरेको हो। यसअघि चुरोट, बिँडी, खैनीलगायतका सुर्तीजन्य पदार्थमा ९० प्रतिशत भागमा घातक चित्र र चेतावनीमूलक सन्देश छाप्ने गरिन्थ्यो।
सुर्तीजन्य पदार्थको प्याकेटको शतप्रतिशत भागमा चित्र तथा सन्देश छाप्ने निर्देशिका पारित गरेर विश्वमै सबैभन्दा बढी भागमा सुर्तीजन्य पदार्थविरुद्धको सन्देश छाप्ने राष्ट्रको पहिचान बनाएको नेपाल अब चाँडै नै 'प्लेन प्याकेजिङ'मा जाने तयारी गरेको छ। प्लेन प्याकेजिङमा जाँदा सुर्तीजन्य कम्पनीले 'ब्रान्डिङ' गर्न नपाउने र प्याकेजको 'लेभल' पनि एकै हुनेछ।
स्वास्थ्य कर कोष सचिवालयका सदस्यसचिव तथा मन्त्रालयका कानुन शाखाका उपसचिव गोपीकृष्ण रेग्मीले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ संशोधन गरेर प्लेन प्याकेजिङमा सुर्तीजन्य पदार्थको प्याकेज लैजानेबारे छलफल गरिएको बताए। "प्लेन प्याकेजिङका लागि ऐन नै संशोधन गर्नुपर्दछ," उनले भने, "आगामी संसद्को अधिवेशनमा ऐन संशोधन गर्नेगरी कानुनको मस्यौदा तयारी गरिएको छ।"
उपसचिव रेग्मीले प्लेन प्याकेजिङमा अन्य धेरै देश पनि अभ्यासमा गइसकेको हुनाले नेपालमा प्लेन प्याकेजिङमा जानेबारे तयारी गरिएको बताए। मन्त्रालयले ऐन संशोधन गर्नका लागि प्रशासन महाशाखाका प्रमुख ऋषिराज आचार्यको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र उद्योग मन्त्रालयका प्रतिनिधि रहेको कार्यदल गठन गरेको छ। उपसचिव रेग्मीका अनुसार अष्ट्रेलिया, बेल्जियम, टर्की, इजरायल, फ्रान्स, बेलायत, लाओस, म्यान्मालगायतका देशले प्लेन प्याकेजिङ लागू गरिसकेका छन्।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले शतप्रतिशत घातक चित्र र चेतावनीमूलक सन्देश राखे पनि सुर्तीजन्य पदार्थको ब्रान्डलाई रोक्न नसकिएको बताए। उनले सुर्तीजन्य पदार्थको प्याकेजिङमा शतप्रतिशत घातक चित्र र चेतावनीमूलक सन्देश राख्ने निर्देशिका संशोधन गरिसकेको भएपनि त्यसले सुर्तीजन्य पदार्थको ब्रान्डलाई नियन्त्रण गर्न नसकेकाले सेवनकर्ता ब्रान्डका आधारमा सुर्तीजन्य पदार्थको सेवन गर्ने भएकाले त्यसलाई रोक्न प्लेन प्याकेजिङमा जाने सोच बनाएको बताए।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालजस्तो देशमा प्लेन प्याकेज आवश्यक रहेको बताएका छन्। उनले चुरोट, सुर्तीको प्लेन प्याकेजले प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगमा कमी हुने बताए।