काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ।
नगरपालिकाले जनप्रतिनिधि, शिक्षक, नगरका कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूलाई यही वैशाख मसान्तसम्ममा अनिवार्य रूपमा सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना गरेको प्रमाणसमेत बुझाउन निर्देशन दिएको हो। नगरपालिकाले शुक्रबार सार्वजनिक सूचनामार्फत सामुदायिक विद्यालय शैक्षिक सुधार योजनाअन्तर्गत यो निर्देशन जारी गरेको हो।
नगरपालिकाले २०८१ चैत २६ गते नगर शिक्षा समितिको बैठकले गरेको निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्न उर्दी नै जारी गरेको छ। करिब एक महिनाअघि निर्णय गर्दा पनि सबैले कार्यान्वयन नगरेकाले सूचनामार्फत निर्देशन जारी गर्नुपरेको नगरप्रमुख टोकबहादुर वाइबाले बताए। "निर्णय कार्यान्वयन गराउन नगर दत्तचित्त रहन्छ," उनले भने।