कैलालीको घोडाघोडी नगरपालिकामा एक युवकको औषधिको प्रतिक्रियाका कारण मृत्यु भएको छ। ३५ वर्षीय निरजबहादुर शाहीको स्थानीय मेडिकलमा स्वास्थ्यकर्मीले दिएको औषधिले काम नगर्दा मृत्यु भएको भन्दै परिवारले लापरवाहीको आरोप लगाएका छन्।
परिवारका अनुसार, शाही छाती दुखेको कारण दहित मेडिकलमा उपचारका लागि पुगेका थिए। त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले उनलाई जाँच गरेर औषधि दिएका थिए। औषधि लिएलगत्तै उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको र केही समयमै उनको मृत्यु भएको बताइएको छ।
मृतकका परिवारले स्वास्थ्यकर्मीको लापरवाहीले यस्तो घटना भएको दाबी गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनीहरूले घटनाको अनुसन्धानको माग गर्दै प्रदर्शन गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ताले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा भन्न सकिने बताएका छन्। घटनापछि मेडिकल सञ्चालक सम्पर्कमा आएका छन् र अनुसन्धानमा सहयोग गरिरहेका छन्। तर औषधि दिने स्वास्थ्यकर्मी भने फरार रहेकाले प्रहरीले खोजी जारी राखेको छ।