माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टासम्म पत्रकार सम्मेलन गरी युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीको यसअघिको रेकर्ड तोडेका छन्।
मुइज्जुले स्थानीय समयअनुसार शनिबार बिहान १०ः०० बजे सुरू गरेको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेर सकिएको हो।
मालदिभ्स सरकारले मुइज्जुको विस्तारित सत्रलाई शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मनाउने उद्देश्यले आयोजना गरिएको जनाएको छ। उनले समाजमा प्रेसको महत्वपूर्ण भूमिकालाई स्वीकार गर्दै तथ्यपरक, सन्तुलित र निष्पक्ष रिपोर्टिङको महत्वमा जोड दिएका छन्।
सन् २०२३ मा सत्तामा आएका मुइज्जुको नेतृत्वमा माल्दिभ्स रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले प्रकाशित गरेको सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा १८० देशमध्ये दुई स्थान माथि चढ्दै १०४औँ स्थानमा पुग्न सफल भएको छ।
सन् २०१९ को अक्टोबरमा युक्रेनको नेसनल रेकड्र्स एजेन्सीले जेलेन्स्कीको १४ घण्टे पत्रकार सम्मेलनले बेलारुसका प्रभावशाली नेता अलेक्जेन्डर लुकासेन्कोको सात घण्टाभन्दा लामो रेकर्ड तोडेको दाबी गरेको थियो।
मुइज्जुका पूर्ववर्तीले सन् २००९ मा समुद्रको सतह बढ्न सक्ने खतरालाई उजागर गर्न पहिलो पटक ‘पानीमुनि मन्त्रीपरिषद्को बैठक’ आयोजना गरेर अर्को विश्व रेकर्ड कायम गरेका थिए। पूर्व राष्ट्रपति मोहम्मद नसिदले हिन्द महासागरको पानीमुनि मन्त्री परिषद्को बैठक आयोजना गरेका थिए भने यसको राष्ट्रिय टेलिभिजनद्वारा प्रत्यक्ष प्रशारण गरिएको थियो।