बागलुङको गलकोट नगरपालिका–६ स्थित मजुवा–नेपाने सडक कालोपत्र गरिएको छ। ‘ट्रयाक’ खुलेको २२ वर्षपछि उक्त सडक कालोपत्र गरिएको हो। करिब आठ किलोमिटर लामो रहेको यो सडक विसं २०६० मा ‘ट्रयाक’ खुलेको थियो। सडक खुलेको लामो समयसम्म स्तरोन्नति नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीय कालोपत्र भएपछि खुसी भएका छन्।
ग्रामीण क्षेत्रलाई बजारसँज जोड्नका लागि निर्माण भएको यस सडकले गलकोट नगरपालिकाको मजुवासहित कादेस, ठानालगायतका एक दर्जन गाउँबस्तीलाई जोडेको छ। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटले कालोपत्र गरिएको हो।
पहिलो चरणमा करिब दुई किलोमिटर सडक कालोपत्रका गर्नका लागि रु दुई करोड १३ लाख १४ हजार ७२६ मा जिम्मा पाएको पूर्वाधार विकास कार्यालय बागलुङका इञ्जिनियर चन्द्र पुनले जानकारी दिए। हालसम्म ८० प्रतिशत काम सकिएको छ। सडक कालोपत्रका लागि एम/एस जेभीले जिम्मा पाएको उनको भनाइ छ।
सडक खुलेको दुई दशकसम्म कालोपत्र नहुँदा नागरिकलाई यात्रा र सामान ढुवानी गर्न समस्या भएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए। प्रदेश सरकारले गत वर्षदेखि चासो दिएर बजेट विनियोजन गरेपछि काम भएको उनको भनाइ छ।