मधेस प्रदेश सरकारले चुरेक्षेत्रको विनास रोक्न तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपण अभियान सुरु गर्ने भएको छ । अभियानअन्तर्गत मधेस प्रदेश सरकारले ८६ लाख बिरुवा रोपिनेछ ।
प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले उक्त अभियानअन्तर्गत प्रदेशका सडकपेटीमा मात्र चार लाख बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी दिए । “चालु आर्थिक वर्षमा ५० किमी सडकपेटी तथा २७८ हेक्टर क्षेत्रफलमा वृक्षरोपण हुनेछ,” घिमिरेले भने ।
मन्त्रालयबाट प्राप्त जानकारीअनुसार ८६ लाख बिरुवामध्ये ६२ लाख बिरुवा प्रदेश सरकारको बजेटबाट तथा बाँकी सङ्घीय सरकारको ससर्त अनुदानमार्फत उत्पादन गरिने बताइएको छ । ती बिरुवाहरू सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिने उनको भनाइ छ ।
उत्पादन भएका बिरुवामध्ये करिब आठ प्रतिशत बिरुवा सरकारी वनक्षेत्र तथा डिभिजन वन कार्यालयको मातहत रहने क्षेत्रमा रोपिने छ भने बाँकी ८० प्रतिशत बिरुवा निजी जग्गामा रोपिने छ । यसमार्फत हरियाली विस्तारसँगै वातावरणीय सन्तुलन कायम गर्ने सरकारको दिगो लक्ष्य छ ।
यस अभियानले वनजङ्गलको संरक्षण, चुरेक्षेत्रको संरक्षण हुने, नदी तथा भूमि कटान रोकथाम हुने र पर्यावरण सुरक्षा तथा सुधारमा सकारात्मक योगदान पुग्ने प्रदेश सरकारको विश्वास छ ।
डिभिजन वन कार्यालय धनुषा जनकपुरधामका वन अधिकृत अनिल साहका अनुसार धनुषा जिल्लाअन्तर्गत जनकपुर–ढल्केवर सडक खण्डको दुवै क्षेत्रको पेटीमा चार हजार ४०० बिरुवा रोप्न सुरु भइसकेको छ ।